गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला

11 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनुभएको छ ।

संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो । उहाँले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताउनु भयो ।

उहाँले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गगन कुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुईजनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु ।’

कोईरालाले काँग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गर्नुभयो । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उहाँले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताउनु भयो । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘वीपी हुँदा यस्तो गालीगलौज हुँदैनथ्यो । विवाद हुन्थ्यो, तर एउटा सीमित घेरामा बस्थे, यस्तो किसिमको छरपस्ट त हुँदैनथ्यो । मलाई सम्झना छ, प्रदीप गिरीज्यू विवाद गर्नुहुन्थ्यो, प्रश्नहरु गर्नुहुन्थ्यो । बौद्धिक विमर्श, हो त्यो विमर्श भनौं न । त्यहाँ झगडा, लुछाचुँडी हुँदैनथ्यो । आदर्शहरुको बारेमा बीपीले भन्नुहुन्थ्यो, त्यसलाई डिफेन्ड उहाँले गर्नुहुन्थ्यो । त्यसको प्रतिपक्षमा उहाँ हुनुहुन्थ्यो । अनि उहाँहरुको आदान प्रदान हामी सुन्थ्यौं ।’

उहाँले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताउनु भयो । विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उहाँको भनाई छ । उहाँले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गर्नुभयो । काँग्रेसभित्र सहमति हुने दाबी गर्दै उहाँले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुप¥यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’

उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके काँग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्रका वरिष्ठ नेताहरुलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गर्नुभयो ।