देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ पर्छ पानी ?

24 Shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।