झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनापछि चालक फरार भए पनि प्रहरीले उनलाई पक्राउ गरेको छ भने घटनाप्रति आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेश रहेका छन्। शनिबार साँझ साइकलमा यात्रा गरिरहेका गणेशलाई टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
घटनालगत्तै स्थानीयको सहयोगमा उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। चिकित्सकको उपचारका क्रममा आइतबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजतलास तीव्र बनाएपछि झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरेको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।
यता, इशनलाल गणेशको मृत्युको खबर फैलिएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले दुर्घटनामा संलग्न टिपरमाथि तोडफोड गर्दै विरोध जनाएका हुन्। घटनास्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण, टिपरको गति तथा अन्य प्राविधिक पक्षबारे अनुसन्धान जारी रहेको बताएको छ। साथै, शवको कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया