काठमाडौंका यी स्थानमा ग्यास वितरण हुँदै, खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

19 Shares

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभावमा रहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले भोलि शनिबार काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री-वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा काठमाडौँका विभिन्न ग्यास उद्योगीहरूले तोकिएका स्थानबाट सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन् ।

ग्यास खरिद गर्न चाहने उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको कार्यतालिका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण गरिनेछ। त्यसैगरी, चाबहिलस्थित यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास खरिद गर्न सकिनेछ ।

वसुन्धरास्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यासको बिक्री वितरण हुनेछ । बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट भने नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

नेपाल आयल निगमले हाल एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत बजारमा नियमित आपूर्ति गरिरहेको समेत स्पष्ट पारेको छ ।

यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिहरूका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ ।