काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयबाट कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले साउन २८ गते जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई साउन २७ गते राति निजी निवासबाट पक्राउ गरिएको तथा त्यसको भोलिपल्ट बिहान सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको उल्लेख छ।
काउन्सिलले प्रकाशित वा प्रसारित कुनै समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियाअनुसार काउन्सिलमा उजुरी गर्न सकिने व्यवस्था रहेको स्मरण गराएको छ। पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा काउन्सिलले कारबाही तथा आवश्यक निर्देशन दिन सक्ने भएकाले समाचारका विषयमा असन्तुष्टि भए कानुनी बाटो अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।
नागरिकको सूचनाको हक सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य रहेको काउन्सिलले जनाएको छ। साथै सञ्चारकर्मीलाई सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न तथा प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषयमा आफ्नो क्षेत्राधिकारभित्र रहेर अनुगमन गर्दै आएको जनाउँदै कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझे सम्बन्धित पक्षलाई काउन्सिलमै उजुरी दिन पुनः आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया