देशभरको खानेपानी समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

18 Shares

संसदीय समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयवद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताउनुभएको हो । उहाँकाअनुसार बैठकले मधेस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्न गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारलाई निर्देशन दिएको छ । सभापति गजुरेलले मधेश प्रदेशमा अधुरा रहेका १ सय ७६ वटा ओभरहेड ट्याङ्कीसम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शिघ्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले काठमाडौं उपत्यकामा मेलम्ची, वागमतीलगायत खानेपानीका स्रोतको संरक्षण, विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ । उहाँले सुनकोशी–मरिण डाइभर्सनबाट मधेश तथा तराई क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी उपलब्ध गराउने सम्भावनाबारे चालु आर्थिक वर्षभित्रै सम्भाव्यता अध्ययन सम्पन्न गरी लागत, स्रोत, प्रविधि तथा कार्यान्वयनको स्पष्ट खाका तयार गरी कार्यान्वयन गर्न समेत सरकारलाई निर्देशन दिनुभयो ।सभापति गजुरेलले पानीका मुहान तथा तिनको व्यवस्थापनमार्फत आसपासका बस्तीमा खानेपानीको व्यवस्था गर्ने गरी संघीय सरकारका सम्बन्धित मन्त्रालयले ‘इन्ट्रिग्रेटेड मास्टर प्लान’ तयार गर्न समेत सुझाव दिएको छ ।