कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

103 Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए । उनले समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको बताए ।

उनले होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।