काठमाडाैं । इटहरी उपमहानगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नागरिकलाई उपचारमा सहज पहुँचसँगै थप सहुलियत उपलब्ध गराउने उद्देश्यले नोबेल मेडिकल कलेजसँग सहकार्य गरिएको बताए। उपचारका क्रममा नागरिकमाथि पर्ने आर्थिक भार कम गर्दै सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनाउन सम्झौता गरिएको उनको भनाइ छ।
उपमहानगरपालिकाको सिफारिसमा उपचारका लागि आउने कोशी प्रदेशका बिरामीले समेत सम्झौतामा उल्लेखित सुविधा प्राप्त गर्नेछन्।
नागरिकको स्वास्थ्य र उपचारमा सहज पहुँचलाई प्राथमिकतामा राखेर गरिएको यो सहकार्यलाई उपमहानगरपालिकाले ‘स्वस्थ नागरिक, समृद्ध इटहरी’ निर्माण अभियानको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
उपमहानगरपालिकाले आगामी दिनमा पनि नागरिकलाई गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया