काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोम्पाल कामीले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वको प्रशंसा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सोम्पालले रोहितले कम उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेर देशको अपेक्षाको जिम्मेवारी पूरा गरेको बताएका छन्। कठिन परिस्थितिमा समेत रोहितले दबाबलाई अवसरमा बदल्दै टोलीलाई अग्रमोर्चाबाट नेतृत्व गरेको उनको भनाइ छ।
सोम्पालले रोहितले टोलीका लागि स्वयं चुनौती र दबाबको सामना गर्दै अन्य खेलाडीलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन्। रोहितको नेतृत्वले साँचो नेतृत्वको उदाहरण प्रस्तुत गरेको भन्दै उनले उनको क्षमता र योगदानको प्रशंसा गरेका हुन्।
उनले लेखेका छन्, ‘तिमी हामीमध्ये धेरैभन्दा कम उमेरमा आयौ, तर देशको अपेक्षाको भारी यस्तो शान्त र संयमित ढंगले बोकेर हिँड्यौ, जसले तिम्रो उमेरलाई नै फिक्का बनाइदियो। जब–जब परिस्थिति हाम्रो विरुद्ध थियो, तिमीले कुनै न कुनै तरिकाले आँधीलाई नै हाम्रो पक्षको हावामा बदलिदियौ। तिमीले कठिनाइको सामना मात्र गरेनौ, त्यसलाई नै हाम्रो शक्तिमा परिणत गर्यौ।’
सोम्पालले रोहितसँग मैदानमा बिताएका खेलका क्षण, संघर्ष र टोलीका लागि उनले गरेको योगदानलाई समेत स्मरण गरेका छन्। उनले रोहितलाई कप्तानका रूपमा मात्र नभई भाइका रूपमा समेत सम्बोधन गर्दै उनको नेतृत्व र साथप्रति आभार व्यक्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया