सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण गर्न सकिंदैनः ट्राफिक प्रहरी

16 Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरण गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिनुभयो । सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताउनुभएकाे छ । मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उहाँले बताउनुभयाे।

वरिष्ठ उपरीक्षक काफ्लेले सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्ता समेत जोखिममा पर्ने गरेको उहाँले बताउनुभएकाे छ । उहाँले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविधालयमा पढाई नहुने गुनासो गर्नुभयो ।

वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयाे । सामाजिक सञ्जालमार्फत हरेक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्‍याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभएकाे छ । ट्राफिक नियम उल्लंघनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको उहाँको दावी थियाे । कक्षामा सहभागी अधिकांशले ट्राफिक नियम सम्बन्धी शिक्षा चालक अनुमतिपत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने उहाँले बताउनुभयाे ।

वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्युनिकरण गर्नु रहेको स्पष्ट पानुभएकाे छ । उहाँले ट्राफिक प्रहरीलाई कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशनसमेत दिनुभयो । ट्राफिक प्रहरीले कानून कार्यान्वयन गराउँदा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको बताउनुभयो ।

वरिष्ठ उपरीक्षक काफ्लेले सडक दुर्घटनामा कमी आएपनि हालको अवस्था सन्तोषजनक नरहेको बताउनुभएकाे छ। उहाँका अनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिव ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको हाे । गत वर्षको तुलनामा सडक दुर्घटनामा करिब २० प्रतिशत कमी आएको भएपनि त्यसलाई पर्याप्त मान्न नसकिने बताउनुभएकाे छ। आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।