देशमा सुशासन र समृद्धि रातारात सम्भव हुँदैन: सभापति ढकाल

16 Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबै भन्दा ठूलो उपलब्धि हुने बताउनुभएको छ ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देशमा एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गर्नुभयो । उहाँले अहिलेको आवश्यकता एक-अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताउनुभएकाे छ।

सभापति ढकालले विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्नुभयाे। उहाँले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिनुभएकाे छ। उहाँले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको र यो कार्यकालमा सबैभन्दा ठूलो विश्वास जनतामा पैदा हुने किसिमको बनाउनुपर्ने बताउनुभयो ।

सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्नुभएकाे छ । अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ।