काठमाडौं । सांसदहरुले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई खलबलिन नदिन तथा सामाजिक सञ्जालमा फैलिँदै गएका घृणात्मक गतिविधि नियन्त्रणका लागि सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीवार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले हालै मधेसमा भएको धार्मिक तनावले सिंगो मुलुकलाई सचेत गराएको बताए ।
उनले नेपाल बहुभाषिक र बहु सांस्कृतिक समाज भएको उल्लेख गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कुनैपनि हालतमा खलबलिन नदिन सरकार, संसद्, नागरिक समाज र आम नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए । उनले धार्मिक तथा साम्प्रदायिक विषयमा राजनीतिक दलहरू विभाजित नहुनु सकारात्मक भएको समेत बताए ।
उनले भने, ‘मधेसमा भएको तनावले सिंगो मुलुक र समाजलाई गम्भीर बन्नको निमित्त सचेत गराएको छ । हामी बहुभाषिक, बहु सांस्कृतिक सभ्यताको लामो धरोहर बोकेको समाजमा बसिरहेका छौँ । त्यसकारण हामीले निर्वाह गर्दै आएको सामाजिक सद्भावलाई, राष्ट्रिय एकतालाई भड्किन नदिनका लागि सचेत हुनुपर्छ ।’
त्यस्तै, नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने र हिंसा उक्साउने गतिविधि बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समुदाय र धर्मलाई नै विभाजन गर्ने गरी क्रियाकलाप भइरहेको भन्दै यसको नियन्त्रणका लागि समितिले सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । उनले समितिले आफ्नो कार्यक्षेत्रअन्तर्गत विगतका सन्धि–सम्झौताहरूको पुनरावलोकन तथा पुनर्लेखनमा समेत चासो दिनुपर्ने बताए ।
उनले भने, ‘अहिले समाजलाई भड्काउने, एक अर्काका विरुद्धमा जुधाउने, हिंसालाई प्रोत्साहन गर्ने खालका समस्याहरू अहिले देखिरहेको अवस्था छ । यी समस्याहरू खास गरेर फेसबुकमा अझ बढी मात्रामा देखिरहेको मैले महसुस गरेको छु । यस विषयमा समितिले आवश्यक ध्यान दिने र सरकारलाई पनि निर्देशित गर्ने काम गर्नुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अंकिता ठाकुरले मधेसमा हिन्दु र मुस्लिम समुदायबीच लामो समयदेखि सद्भावपूर्ण सहअस्तित्व रहँदै आएको बताइन् । उनले हालै भएको धार्मिक तनाव योजनाबद्ध रूपमा कसैबाट परिचालित भएको आशंका व्यक्त गर्दै गृह मन्त्रालयलाई छानबिन प्रक्रिया तीव्र समितिले निर्देशन दिनुपर्ने बताइन् ।
उनले सीमा सुरक्षा तथा अनुगमनलाई समेत प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । मधेस प्रदेशमा बढ्दो लागु औषध ओसारपसार रोक्न प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाई छ ।
उनले भनिन, ‘हामी मधेसमा हिन्दु, मुस्लिम सबै मिलेर आपसी सद्भाव राखेर बसिरहेको अवस्था हो । हालै मधेसमा भएको घटना कतैबाट परिचालित हो । यस घटनाको छानबिन चाहिँ किन अहिलेसम्म भएन ? यो घटना के कारणले भएको हो भनेर फ्याक्ट बाहिर निस्कन सकेन । यसबारे हाम्रो समितिले गृह मन्त्रालयलाई दबाब दिनुपर्छ जस्तो लाग्छ ।’ समितिको बिहीवारको बैठकमा मुलुकको समसामयिक विषयमा सांसदहरुले आआफ्नो धारणा व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया