काठमाडौं। माध्यमिक तथा उच्च माध्यमिक तहको परीक्षा सञ्चालन तथा नतिजा व्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्ड विगत आठ महिनादेखि अध्यक्षविहीन अवस्थामा सञ्चालन भइरहेको छ। तत्कालीन अध्यक्ष महाश्रम शर्माको कार्यकाल गत पुस १२ गते समाप्त भएयता सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न नसक्दा बोर्ड नेतृत्वविहीन बनेको हो।
अध्यक्ष पद रिक्त रहँदा पनि बोर्डले यस वर्षका महत्वपूर्ण परीक्षा समयमै सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै र कक्षा १२ (एसएलसीई) को नतिजा ४० दिनभित्र सार्वजनिक गरिएको थियो। यद्यपि बोर्डका कर्मचारीहरू भने लामो समय नेतृत्व नहुँदा नीतिगत निर्णय, योजना निर्माण तथा संस्थागत व्यवस्थापन प्रभावित भएको गुनासो गर्छन्।
बोर्ड अध्यक्षका लागि बालेन शाह नेतृत्वको सरकार गठन हुनुअघि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका पूर्वनियन्त्रक पुष्पराज जोशीको नाम सिफारिस गरिएको थियो। तर वर्तमान सरकारले नयाँ प्रक्रियाबाट नियुक्ति गर्ने निर्णय गर्दै उक्त सिफारिस खारेज गर्यो। त्यसपछि नयाँ प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।
यसबीचमा अध्यक्ष नियुक्ति नहुँदा बोर्डको नेतृत्व शिक्षा मन्त्रालयका सचिवमार्फत सञ्चालन भइरहेको छ। कानुनी व्यवस्थाअनुसार शिक्षा मन्त्रालयका सचिव बोर्डको उपाध्यक्ष रहने व्यवस्था छ। हाल शिक्षा सचिव चुडामणि पौडेलले कार्यवाहक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
शिक्षा मन्त्रालयले सचिवकै नेतृत्वमा कर्मचारीहरूले समन्वयात्मक रूपमा काम गरेकाले यस वर्ष एसईई र कक्षा १२ को नतिजा विगतभन्दा छिटो सार्वजनिक गर्न सफल भएको निष्कर्ष निकालेको छ।
तर बोर्डका कर्मचारीहरूको धारणा भने फरक छ। उनीहरूका अनुसार दैनिक प्रशासनिक काम भए पनि अध्यक्ष नहुँदा आवश्यक निर्णयका लागि सानोठिमीबाट सिंहदरबार पुग्नुपर्ने बाध्यता रहेको छ।
एक कर्मचारीले भने,
"सचिवज्यू मन्त्रालयको नियमित काममै व्यस्त हुनुहुन्छ। बोर्डसँग सम्बन्धित समस्या समाधान गर्न पनि मन्त्रालय धाउनुपर्छ। अध्यक्ष भएको भए धेरै निर्णय यहीँबाट सहज रूपमा गर्न सकिन्थ्यो।"
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले भने अध्यक्ष रिक्त भए पनि दैनिक प्रशासनिक तथा परीक्षा सम्बन्धी काममा कुनै अवरोध नआएको दाबी गरेका छन्।
उनका अनुसार सचिव पौडेलले आवश्यक निर्णय समयमै गर्दै आएकाले परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा प्रशासनिक कार्य नियमित रूपमा भइरहेको छ।
पूर्वअध्यक्ष महाश्रम शर्माका अनुसार बोर्डको भूमिका परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्नेमा मात्र सीमित छैन। परीक्षा प्रणालीको समीक्षा, नतिजाको विश्लेषण, शैक्षिक सुधारका नीति निर्माण, प्रमाणपत्र प्रमाणीकरण, जनशक्ति व्यवस्थापन तथा संस्थागत सुधारका विषयमा पनि बोर्डले महत्वपूर्ण निर्णय गर्नुपर्ने हुन्छ।
उनले अध्यक्ष संस्थाको अभिभावक भएकाले दीर्घकालीन नीति निर्माण र समन्वयका लागि अध्यक्ष आवश्यक रहेको बताए।
शर्माले भने,
"अध्यक्ष भएपछि संस्थामा नेतृत्व र अभिभावकत्व हुन्छ। प्रशासनिक काम चल्न सक्छ, तर नीतिगत निर्णयका लागि अध्यक्ष अपरिहार्य हुन्छ। परीक्षा प्रणाली सुधार, नतिजाको मूल्याङ्कन र भविष्यका नीति तय गर्ने जिम्मेवारी बोर्डकै हो।"
उनका अनुसार राष्ट्रिय परीक्षा बोर्ड स्वायत्त शैक्षिक संस्था भएकाले लामो समयसम्म नेतृत्व रिक्त राख्नु उपयुक्त अभ्यास होइन।
शिक्षा मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्तिको विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको जनाएको छ। मन्त्रालयका केही अधिकारीका अनुसार तत्काल अध्यक्ष नियुक्त नगरी शिक्षा सचिवकै नेतृत्वमा बोर्ड सञ्चालन गर्ने विकल्प पनि विचाराधीन छ।
यद्यपि शिक्षा सचिव चुडामणि पौडेलले भने अध्यक्ष नियुक्तिको विषय मन्त्रालय र सम्बन्धित मन्त्रीसँग छलफलकै क्रममा रहेको बताएका छन्।
उनले भने,
"बोर्डको नियमित काम भइरहेको छ। अध्यक्ष नियुक्तिका विषयमा मन्त्रीज्यूसँग आवश्यक परामर्श गरेर निर्णय हुनेछ।"
प्रचलित व्यवस्थाअनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन गर्नुपर्छ। समितिमा शिक्षाविद्हरूमध्येबाट कम्तीमा एक जना महिलासहित शिक्षा मन्त्रालयले मनोनयन गरेका दुई सदस्य रहने व्यवस्था छ।
उक्त समितिले योग्य व्यक्तिको नाम सरकारलाई सिफारिस गरेपछि मन्त्रिपरिषद्ले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ।
हालसम्म नयाँ समिति गठन र सिफारिस प्रक्रिया अघि नबढेकाले बोर्ड नेतृत्वविहीन अवस्थामै सञ्चालन भइरहेको छ। शिक्षा क्षेत्रका जानकारहरू भने स्वायत्त शैक्षिक संस्थाको दीर्घकालीन प्रभावकारिता कायम राख्न सरकारबाट यथाशीघ्र अध्यक्ष नियुक्ति हुनुपर्नेमा जोड दिइरहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया