काठमाडौँ। काठमाडौँको गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेबिच भएको विवादबारे चौतर्फी चर्चा भएपछि सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्।
गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र खटिएका सैनिक अधिकारीबिच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा काठमाडौँ क्षेत्र नम्बर ३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिहरू डोजर लिएर पुगेका थिए ।
सुरक्षामा खटिएका सैनिक अधिकारीले आधिकारिक पत्र माग गर्दै ब्यारेक र सुरक्षा संवेदनशीलताको विषय उठाएका थिए । तर सांसद पाण्डेले भौतिक पूर्वाधार मन्त्री नेपाल ट्रस्टको अध्यक्ष रहने र सडक विस्तारको काम नरोकिने भन्दै पर्खाल भत्काइ छाड्ने अडान लिएका थिए ।
सेनाको गुनासोपछि बालेन टीमको एक्सन
यही विषयमा केन्द्रित भएर प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र प्रधान सेनापति अशोक सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भयो। स्रोत भन्छ, ‘प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी छ, त्यसक्रममा नियमित भेट हुनु स्वाभाविक नै हो। तर यसमा सेनासँग मानीनय पाण्डेले गरेको व्यवहार पनि चर्चा भयो ।’
भेटमा रहेका बालेन सचिवालय सदस्यले तत्कालै सांसद राजुनाथ पाण्डेलाई फोन गरेर प्रधानमन्त्री कार्यालय बोलाएका थिए । त्यसपछि पाण्डेलाई ‘जहाँ पनि प्रधानमन्त्रीकाे नाम लिने होइन’ भन्दै सचेत गराएको छ । ‘सांसद भयो भन्दैमा प्रधानमन्त्रीलाई जहाँ पनि जोड्न मिल्दैन, सुरक्षा निकायसँग संवादको शैली पनि राम्रो हुनुपर्छ भन्ने विषयबारे छलफल भएको हो, एक सचिवालय सदस्यले भने ।
यो विषयमा सांसद पाण्डेले प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन् । ‘हिजो पनि जान्थे, आज पनि गएको हुँ । काम परे भोलि पनि जानुपर्छ,’ उनले भने। प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण र चौतर्फी आलोचनापछि सांसद पाण्डेले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै स्थिति स्पष्ट पारेका हुन्।
विज्ञप्तिमा उनले नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै भाइरल भिडियो समन्वयका क्रममा केही मिनेट ढिलाइ हुँदाको मात्र भएको दाबी गरेका छन्।
प्रारम्भिक भनाभनपछि नेपाली सेनासँगै मिलेर र पूर्ण समन्वयका साथ बागमती करिडोर विस्तारको काम सम्पन्न गरिएको उनले स्पष्ट पारेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया