काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरुबीच कार्यगत सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले कार्यगत एकता गर्दा पार्टी नै एउटै हुन लाग्यो कि भन्ने भ्रम सिर्जना गरिएको भन्दै कार्यगत एकता हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पार्नुभयो ।
उहाँले सहकार्यलाई विषयगत र कार्यगत एकताको रूपमा व्याख्या गर्दै त्यसलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउन नहुने समेत बताउनु भयो । संयोजक दाहालले वामपन्थी एकताको लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले तत्कालीन नेकपा एकीकरणको समयमा पर्याप्त राजनीतिक तयारी नहुँदा पार्टी विभाजन भएको स्वीकार गर्नुभयो । उहाँले तत्कालीन नेकपा विघटनका लागि सम्पूर्ण दोष नेतामाथि मात्रै थोपर्न नमिल्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले जसरी सुकुम्बासीका विरुद्ध, मजदुरका विरुद्ध, विद्यार्थी, टे«ड युनियन, नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताका विरुद्ध सरकारका गतिविधिहश्र अगाडि बढेका छन् । यस्तो बेलामा देश बचाउने र आन्दोलन बचाउने मुद्दामा हामी सहकार्य गर्न चाहान्छौँ । हामीले अहिले नै पार्टी एकताको कुरा गरेका होइनौँ । सहकार्य हुने बित्तिकै पार्टी एकता हुनै लागेको भन्ने हुँदैन । यो भ्रममा हामी कोही पनि नपरौँ ।
सहकार्य एक खालको कार्यगत एकता हो । त्यो विषयअनुसार हुँदै जाने हुन्छ । पार्टी एकता भनेको विचार, राजनीति, संगठन, सिद्धान्त लगायतका कुराको त्यसमा विचार गरिनुपर्छ । हामीले हिजो वैचारिक एकता गर्दा धेरै राजनीतिक तयारी नगरेको हुनाले बिग्रेको चाँही पक्कै पनि हो । तर त्यो नेताहरुले मात्रै गरेको भन्न मिल्दैन । नेताहरुको काम त नेतृत्व गर्ने हो नि, गर्छन् कहिलेकाँही ।
कठोर निर्णय लिनु पनि पर्छ । हामीले तत्कालीन नेकपा विघटनमा सबै जिम्मेवार छौँ । नेताहरुलाई मात्रै गाली गरेर पुग्दैन । तर प्रमुख जिम्मेवारी नेताहरुले नै लिनुपर्छ ।’ देश र कम्युनिष्ट आन्दोलनको आन्दोलनको रक्षा गर्ने साझा एजेण्डामा विभिन्न कम्युनिष्ट शक्तिहरु बीच आवश्यकताअनुसार सहकार्य गर्नुपर्नेमा उहाँको जाेड छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया