राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

39 Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले बजारमा महँगो मूल्य तिर्दा पनि उपभोक्ताले आवश्यक वस्तु सहज रूपमा पाउन नसकेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए ।

भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपालमा नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको उनको आरोप छ । रुकुम पश्चिमसहित विभिन्न जिल्लामा एलपी ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

‘जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले आकाश छोएको छ । चर्को मूल्य तिर्दा पनि नागरिकले आवश्यक सामग्री सहज रूपमा पाउन सकेका छैनन्,’ उनले भने ।

यस्तै, सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा बढेको महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ग्यासको मूल्य यथावत भनिए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले नागरिकका अत्यावश्यक आवश्यकताप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

‘चाडपर्वको आगमनसँगै नेपाली नागरिकको भान्सा र चुल्होमा महँगीको चाप बढेको छ । ग्यासको मूल्य यथावत भनिए पनि नागरिकले सहज रूपमा पाएका छैनन्,’ उनले भनिन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले पनि बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताए ।

उनले खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गर्न सरकारसँग माग गरे ।

‘बढ्दो महँगी नियन्त्रण, बजार भाउ घटाउन र गुणस्तर विभागको क्षमता तथा जनशक्ति बढाएर बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।

सांसदहरूले बढ्दो महँगी नियन्त्रण र एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताएका छन् ।