एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

242 Shares

काठमाडाैं । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले शनिबार उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीले मिनिट्रकभित्र रहेका ३१ वटा पोकाबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजा फेला पारेको जनाएको छ।

गाँजा बरामद भएपछि प्रहरीले मिनिट्रकमा सवार तामाङलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको गाँजा र मिनिट्रकलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजाने तयारी गरिएको थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।