धनुषामा कर्फ्यु: हटाइएर निषेधाज्ञा जारी

203 Shares

काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाका संवेदनशील क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। यस्तै, सिरहा जिल्ला प्रशासन कार्यालयले पनि लहान नगरपालिकामा लागू गरिएको कर्फ्यु आदेश हटाएको जनाएको छ।

धनुषामा बिहान १० बजेदेखि निषेधाज्ञा

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार शनिबार बिहान १०ः०० बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा लागू गरिएको हो।

यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हटाइएको प्रशासनले जनाएको छ।

कर्फ्यु हटाइए पनि शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा धर्ना गर्न निषेध गरिएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्र

प्रशासनले तोकेको चारकिल्लाभित्रका प्रमुख क्षेत्रहरूमा निषेधाज्ञा लागू रहनेछ, जसमा:

  • उत्तर: लक्ष्मीनिया हटबजार चोकबाट सिउरजोडा चोक हुँदै लक्ष्मीपुर बोबासम्म
  • पूर्व: बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्व, पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म
  • दक्षिण: नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म
  • पश्चिम: सिउरजोडा–मोहीनी–मनिमण्डप–नेपाल नर्सरी–इरकोन जनकपुर–दुहमती पुल–बेला–कादरी मस्जिद क्षेत्र

प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

लहानमा पनि कर्फ्यु हटाइयो

यसैबीच, सिरहा जिल्ला प्रशासन कार्यालयले लहान नगरपालिकामा लागू गरिएको कर्फ्यु आदेश पनि हटाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा, सुरक्षा निकायसँगको समन्वय तथा स्थानीय परिस्थितिको मूल्याङ्कनपछि साउन १६ गते बिहान १०ः०० बजेदेखि कर्फ्यु हटाउने निर्णय गरिएको हो।

प्रशासनका अनुसार पछिल्लो समय सुरक्षा अवस्था सुधारोन्मुख देखिएकाले कर्फ्यु हटाइएको हो। कर्फ्यु हटेसँगै लहान क्षेत्रमा बजार, यातायात तथा अन्य दैनिक गतिविधि क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।

शान्ति र सद्भाव कायम राख्न प्रशासनको आग्रह

यसअघि सुनसरी र सिरहामा भएका घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै धनुषा र सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।

दुवै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अफवाहमा विश्वास नगर्न, कानुनको पालना गर्न तथा सामाजिक सद्भाव, शान्ति र सार्वजनिक सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्। साथै, सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानीलाई निरन्तरता दिएको जनाएको छ।