गान्धी आदर्श माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघले पायो पूर्णता, शक्ति केसी अध्यक्ष चयन

54 Shares

काठमाडौं । गान्धी आदर्श माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघ गठन प्रक्रिया सर्वसम्मतिमा सम्पन्न भएको छ। २०८३ साउन ९ गते प्रारम्भिक रूपमा गठन गरिएको संघले २०८३ साउन १५ गते शिक्षकतर्फबाट दुई जना सदस्य थपिएसँगै पूर्णता पाएको विद्यालयले जनाएको छ।

विद्यालयको सभाहलमा आयोजित विशेष भेलाले नयाँ शिक्षक–अभिभावक संघको कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो। कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक गणेश चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य खड्ग प्रसाद शिवाकोटी, संगीता कार्की खड्कासरिता थापा, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको समग्र शैक्षिक उन्नयन, अनुशासित वातावरण निर्माण तथा शिक्षक–अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सर्वसम्मतिबाट गठित शिक्षक–अभिभावक संघको अध्यक्षमा शक्ति केसी चयन हुनुभएको छ भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गणेश चन्द रहनुभएको छ।

यसैगरी कार्यसमितिका सदस्यहरूमा नेत्र बहादुर कार्की, कर्णराज कटुवाल, सुदर्शन मगराती, बेग बहादुर बिक, सुशिला सापकोटा, सुनिता थापा तथा सरिता घिमिरे चयन हुनुभएको छ।

संघलाई पूर्णता दिने क्रममा शिक्षकतर्फबाट प्रतिनिधित्व गर्ने हरि भट्टराईबिन्दा खड्का सदस्यका रूपमा थप गरिएको विद्यालयले जनाएको छ। यससँगै शिक्षक–अभिभावक संघले पूर्णता पाएको हो।

प्रमुख अतिथि गया प्रसाद उपाध्यायले विद्यालयको गुणस्तरीय शिक्षा र समग्र विकासका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीच बलियो सहकार्य आवश्यक रहेको बताउँदै नवगठित समितिले विद्यालयलाई थप उन्नतिको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सभापति तथा प्रधानाध्यापक गणेश चन्दले विद्यालयको शैक्षिक सुधार, अनुशासन, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक–अभिभावक संघको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले आगामी दिनमा सबै पक्षसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष शक्ति केसीले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता, शिक्षकसँगको समन्वय तथा विद्यार्थीहितका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सहभागीहरूले नवगठित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शैक्षिक वातावरण निर्माण र विद्यालय, शिक्षक तथा अभिभावकबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजान नवगठित शिक्षक–अभिभावक संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।