काठमाडौं। मधेसका सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै शुक्रवार काठमाडौंमा शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्याली आयोजना गरिएको छ ।
माइतीघर मण्डलाबाट सुरु भएर बबरमहलसम्म पुगेको र्यालीका सहभागीहरूले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न, हिंसा र द्वन्द्व अन्त्य गर्न तथा सबै पक्षलाई संयमता अपनाई संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए ।
र्यालीमार्फत देशमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।
गत आइतबार राति दुई समूहबिचको भएको विवादले उग्ररुप लिँदा भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने अन्य २१ जना घाइते भएका थियो । त्यसयता सुनसरी, सिरहा, धनुषा, पर्सालगायतका क्षेत्र अशान्त बनेका छन् । विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञाका बाबजुद गरिएको प्रदर्शनका क्रममा बिहीबार थप एक युवाको मृत्यु भएपछि अवस्था अझ नाजुक बनेको थियो ।
यद्यपि अहिले भने अवस्था सामान्य रहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, विभिन्न सङ्घसंस्थाहरूले एक आपसमा संयमता अपनाउन अपिल गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया