साउन १५ विशेष: आज देशभर खिर खाएर मनाइँदै 'खिर दिवस'

83 Shares

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा परम्पराअनुसार खिर खाएर ‘खिर दिवस’ मनाइँदै छ। वर्षायामको विशेष दिनका रूपमा असार १५ मा दही–च्युरा खाने र साउन १५ मा खिर खाने नेपाली संस्कार आज पनि निरन्तर कायम छ।

परम्पराअनुसार साउने झरीको समयमा तातो खिर खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। दूध, चामल, चिनी तथा विभिन्न मरमसलाको मिश्रणबाट तयार गरिने खिर स्वादिष्ट मात्र नभई पौष्टिक आहार पनि हो। यही कारण नेपाली समाजमा साउन १५ मा परिवार, आफन्त र इष्टमित्रसँग खिर बाँडेर खाने चलन रहिआएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ फागुन १५ गते बसेको बैठकबाट साउन १५ लाई औपचारिक रूपमा ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’ मनाउने निर्णय गरेको थियो। बोर्डका अनुसार मानक प्रशोधित दूधमा रहेको चिल्लो, प्रोटिन र ल्याक्टोजका कारण दूधबाट पर्याप्त ऊर्जा प्राप्त हुने भएकाले खिर स्वास्थ्यका दृष्टिले पनि लाभदायक परिकार हो।

धार्मिक दृष्टिले पनि संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्त्विक भोजनमध्ये उत्कृष्ट मानिन्छ। वैदिक परम्परामा पितृकार्य, देवकार्य तथा शुभ अवसरहरूमा खिरको विशेष महत्व रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।

साउन महिनासम्म गाउँघरमा रोपाइँको काम सकिने, हरियाली बढ्ने र गाई–भैंसीले प्रशस्त दूध दिने भएकाले यही समयमा आफन्त, छोरी–चेली र पाहुनालाई घरमा बोलाएर खिर खुवाउने परम्परा विकास भएको विश्वास गरिन्छ।

नेपाली संस्कृतिमा विभिन्न महिनाका १५ गते विशेष परिकार खाने चलन पनि रहिआएको छ। असार १५ मा दही–च्युरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे तथा माघ १५ मा मालपुवाजस्ता परिकार बनाएर आफन्तसँग रमाइलो गर्ने परम्परा अझै जीवित छ।