संवेदनशील घडीमा मिथ्या सूचना प्रवाह नगर्न प्रधानमन्त्रीको अपिल

27 Shares
काठमाडौं । संवेदनशील अवस्थामा कुनै पनि प्रकारका मिथ्या सूचना प्रवाह नगर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अपिल गरेका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संवेदनशिल अवस्थामा कुनै पनि प्रकारका मिथ्या सूचना सामाजिक सञ्जालमा प्रवाह नगर्न आग्रह गरेका हुन् ।
 
साथै उनले सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै अराजकता फैलाउने र सदियौँ पुरानो भाइचारा खल्बल्याउने तत्वहरूविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।

केही दिनअघि सुनसरीमा भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताए । घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

साथै घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए । घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको बताउँदै प्रधानमन्त्रीले दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याइने दृढता व्यक्त गरे ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए ।

सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै भएकाले देशको कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने उनले प्रस्ट पारे ।