अशान्त बन्यो मधेसः हेर्नुस् अहिलेसम्म कहाँ-कहाँ जारी भयो कर्फ्यु तथा निषेधाज्ञा ?

25 Shares

काठमाडौं । विभिन्न क्षेत्रमा भइरहेको प्रदर्शन, तोडफोड र आगजनीका कारण मधेश यतिबेला अशान्त बनेको छ । थप अवस्था जटिल बन्न नदिन त्यहाँ स्थित स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेका छन् ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले देशका चार जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश तथा निषेधाज्ञा जारी गरेका हुन् ।

आज बिहानदेखि प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहा, सुनसरी, धनुषामा कर्फ्यु आदेश जारी भएको छ भने पर्सामा निषेधाज्ञा जारी भएको छ ।

प्राप्त विवरणअनुसार सुनसरीका १० वटा स्थानीय तहमा मंगलबार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ । सिरहाको गोलबजार क्षेत्रमा बुधबार दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। त्यस्तै, लहान क्षेत्रमा अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

त्यस्तै, धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकामा बुधबार दिउँसो ३ः३० बजेदेखि कर्फ्यु लागू गरिएको छ।

त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

मधेसका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहदा संयमता अपनाउन राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवि भण्डा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विभिन्न दलका नेता तथा विभिन्न संघसंस्थाहरुले आग्रह गरेका छन् ।

यही सन्दर्भमा प्रधानमन्त्री बालेन शाहले आज साँझ देशबासीको नाममा सम्बोधन गर्दै छन् भने गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट्न गृहमन्त्री सुदन गुरुङ सुनसरी गइसकेका छन् ।