सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, संयम र सद्भाव कायम राख्न आग्रह

34 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन तथा आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बुधबार जारी सद्भाव सन्देशमा उनले सुनसरीमा भएको द्वन्द्वका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भागसम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएकाले यही विविधता नै मुलुकको गौरव र पहिचान रहेको उल्लेख गर्दै उनले यसमा कसैले पनि खलल पुर्‍याउन नहुने बताएका छन् ।

नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै उनले देशको मौलिक मूल्य र मान्यताविपरीत यस्ता अवाञ्छित घटना हुनु चिन्ताको विषय भएको बताएका छन् ।

‘यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो । त्यसैले जुनसुकै भू–भागमा रहे–बसेका जो कोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो,’ सन्देशमा उल्लेख छ ।