वीरेन्द्रनगरको मन्दिरमा महिलामाथि अमानवीय व्यवहार : संसदमा मुद्दा, दोषीमाथि कडा कारबाहीको माग

100 Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित एक मन्दिरमा अन्धविश्वासको नाममा महिलामाथि गरिएको अमानवीय व्यवहारको विषय प्रतिनिधिसभामा उठेको छ। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले घटनालाई ‘जघन्य हिंसा’को संज्ञा दिँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले वीरेन्द्रनगर नगरपालिका–३ स्थित ‘पाथीभरा माता’ मन्दिरमा भएको घटनाले समाजलाई स्तब्ध बनाएको बताए। उनका अनुसार समीर थापाले विगत पाँच–छ वर्षदेखि आफूमा ‘पाथीभरा माता’ उत्पन्न हुने दाबी गर्दै मन्दिर सञ्चालन र झारफुक गर्ने गतिविधि गर्दै आएका थिए।

उनका अनुसार गत शनिबार एक स्थानीय महिला आफूलाई बोक्सी लागेको विश्वास गर्दै झारफुक गराउन उक्त मन्दिर पुगेकी थिइन्। सो क्रममा ती महिलामाथि कुटपिट गर्ने, लात्ती प्रहार गर्ने तथा आफ्नै खुट्टा चटाउन बाध्य बनाउनेजस्ता अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

सांसद खड्काले यस्तो घटनाले महिलाको मानवअधिकारमाथि गम्भीर आघात पुगेको उल्लेख गर्दै अन्धविश्वासको आडमा हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए। उनले यस्ता गतिविधि नियन्त्रण गर्न राज्यले कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

घटनामा संलग्न समीर थापा हाल प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै उनले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिलाउन सरकारसँग माग गरे। साथै, पीडित महिलालाई न्याय सुनिश्चित गर्न र समाजमा फैलिएका अन्धविश्वास तथा कुरीतिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।