सिराहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किन थालेपछि सिरहामा स्थानीय प्रशासनले अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिराहाले सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा कर्फ्यु लागू गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म गोल बजार नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु कायम रहनेछ।
कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वमा कसाह खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा सैनिक चोक र दक्षिणमा राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र समेटिएको छ। उक्त अवधिभर सर्वसाधारणको आवतजावत, भेला तथा अन्य गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
कर्फ्यु आदेशसँगै सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको थप परिचालन गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया