सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

22 Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनापछि विकसित शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन् ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।