काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य सुरु गरेको छ ।
बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पुर्याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले उक्त क्षेत्रको डुबान नियन्त्रणका लागि पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल र अन्य अवरोध हटाउन सुझाव दिएको थियो ।
सोही समितिको सिफारिसका आधारमा महानगरले काम अघि बढाएको हो ।
केही हप्ताअघि भएको अविरल वर्षाका क्रममा माइतीघर क्षेत्र जलमग्न भई आवागमन र जनजीवन प्रभावित भएपछि महानगरले पानीको उचित निकासका लागि यो कदम चालेको हो ।
बर्खाको समयमा हुने डुबानलाई मध्यनजर गर्दै महानगरले ढलको अवरोध हटाउने कार्यलाई प्राथमिकता दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया