"भारतले दिएको एम्बुलेन्स निजी सम्पत्तिजस्तै चलाएको आरोप, पूर्ववडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा"

16 Shares

धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजय कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।भारत सरकारले वडाबासीको निःशुल्क सेवाका लागि उपलब्ध गराएको एम्बुलेन्सलाई सरकारी अभिलेखमा नराखी निजी सम्पत्तिजस्तै प्रयोग गरेको आरोपमा अख्तियारले यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।अख्तियारका अनुसार यादवले २०७७ साल असोज १४ गते भारतीय राजदूतावाससँग सम्झौता गरी वडाबासीका लागि सेवा दिने उद्देश्यले एम्बुलेन्स प्राप्त गरेका थिए। तर, उनले उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा आम्दानी नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको अनुसन्धानबाट खुलेको जनाएको छ।अनुसन्धानका क्रममा ३ वर्ष ५ महिनाको अवधिमा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन भएको तर त्यसको लगबुक, इन्धन खर्च र आम्दानीको आधिकारिक विवरण नराखिएको अख्तियारको दाबी छ।नेपाल रेडक्रस सोसाइटी धनुषाको दररेटलाई आधार मान्दा उक्त अवधिमा एम्बुलेन्स सञ्चालनबाट १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानीनोक्सानी भएको अख्तियारको निष्कर्ष छ।अख्तियारका अनुसार कानुनी कारबाहीबाट बच्ने उद्देश्यले यादवले अनुसन्धानका क्रममा ३ लाख ८१ हजार ५९७ रुपैयाँ बुझाएका थिए। तर अझै ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको आयोगको भनाइ छ।अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गत यादवलाई बिगो बराबर जरिवाना, कैद सजाय तथा बाँकी रकम असुल उपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।