नागढुंगा सुरूङमार्गको ‘ब्रेक थ्रु’ नेपाल र जापान सम्बन्धको महत्वपूर्ण कोशेढुंगा: जापानी राजदूत तोरू

142 Shares

काठमाडाैं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार भव्य समारोहबीच ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ ।

आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गर्नुभएकाे हाे। नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठकै वर्ष यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुले थप विशेष महत्व राखेको राजदूत तोरुले बताउनुभएकाे छ।

राजदूत तोरुले यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने विश्वास गरिएको बताउनुभयो । काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको वचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ । यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदूत तोरुको भनाइ थियाे ।

हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको थियो । राजदूत तोरुले वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उल्लेख गर्नुभएकाे छ। जापानले निर्माण गरेका करिव १५ हजार भन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उहाँले बताउनुभयाे ।

सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हातमा आएको छ । राजदूत तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस सुरुङमार्गको स्वतन्त्र र दिगो व्यवस्थापनका लागि आफ्नै सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको बताउनुभयो । नेपालको लोकतान्त्रिक प्रक्रिया र विकासको लक्ष्यप्रति ऐक्यवद्धता जनाउँदै राजदुत तोरुले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ।

राजदूत तोरुले नागढुङ्गा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारको रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।