डा. केसीका जायज माग तत्काल सम्बोधन गर्नुपर्छ: तोषिमा कार्की

28 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको आमरण अनशन तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

डा. केसीले अनशन सुरु गरेपछि सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो अवस्था आउनै नपर्ने बताएकी हुन् । ‘अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो । आएछ, सर अनशन बस्नुभयो । अब हाम्रो सरकारले तत्कालै डा. केसीका जायज मागहरू सम्बोधन गरोस् ।’

उनले सरकारले डा. केसीलाई अनशनमा बस्न बाध्य बनाउने होइन, सिधै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीसँग छलफल गर्न सक्ने वातावरण बनाउनुपर्ने धारणा राखेकी छन् । विगतका सरकारसँग भएका सम्झौतासमेत कार्यान्वयन गर्दै चिकित्सा शिक्षालाई स्वच्छ, प्रभावकारी र जनमुखी बनाउन सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

कार्कीले शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै ढिलाइ नगर्न आग्रह गरेकी छन् । ‘ढिला नहोस् । शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि र जनदबाब बढेपछि मात्रै सम्बोधन गर्ने अवस्था अब दोहोरिनु हुँदैन ।’

उनले डा. केसीले गेटामा स्थापना हुने शहीद दशरथ चन्द विश्वविद्यालयको विरोध नगरेको स्पष्ट पार्दै त्यसबारे फैलाइएको भ्रमबाट सचेत रहन आग्रह गरेकी छन् । डा. केसीको वास्तविक माग सुदूरपश्चिममा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्ने र एमबीबीएस अध्ययन चाँडै सुरु गर्ने रहेको उनले उल्लेख गरेकी छन् । ‘उहाँको मागलाई समर्थन गर्नु वा नगर्नु आ–आफ्नो धारणा हुन सक्छ । तर उहाँका माग र विगतका उपलब्धिलाई तोडमोड गर्नु भनेको एक सत्याग्रहीको त्याग र संघर्षमाथिको अपमान हो ।”

कार्कीका अनुसार गेटामा बनेको ठूलो संरचनाले अझै ३०० शय्याको अस्पतालको समेत स्वीकृति पाउन नसकेको अवस्था विडम्बनापूर्ण छ । कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान र कहिले विश्वविद्यालयका नाममा प्रक्रिया लम्ब्याइँदा सुदूरपश्चिमका नागरिकले वर्षौँसम्म सेवा नपाएको उनको भनाइ छ ।

उनले आफूले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने र सम्बन्धित विधेयक शीघ्र टुङ्ग्याउन संसद तथा संसदीय समितिमा पटक–पटक आवाज उठाएको स्मरण गराएकी छन् । अहिले गेटाको संरचनालाई चिकित्सा शिक्षामै केन्द्रित शहीद दशरथ चन्द विश्वविद्यालयका रूपमा अघि बढाइनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसलाई गुम्न दिन नहुने उनले बताएकी छन् ।

कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियानमा आफ्नो समर्थन निरन्तर रहने स्पष्ट पारेकी छन् । ‘नेपाली जनताको हित केन्द्रित अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि आदरणीय प्रा. डा. गोविन्द केसीसँग सधैँ थिएँ, छु र रहनेछु ।’