घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत अख्तियारको नियन्त्रणमा

23 Shares

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेश गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय लहानमा कार्यरत पालको कार्यकक्षबाट घुसस्वरूप लिइएको रकम र एक थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले कर अधिकृत पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।