काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने बताएका छन् ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्नु सम्भव नरहेको बताएका हुन् ।
उनले सरकारको प्राथमिकता वैदेशिक रोजगारी रोक्ने नभई यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको स्पष्ट पारे ।
मन्त्री यादवले नेपाली श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाऊन् तथा सुरक्षित कार्यस्थल, आवास र आधारभूत सुविधाको सुनिश्चितता होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताको पहल भइरहेको जानकारी दिए ।
‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था छैन । आजको विश्व ‘ग्लोबल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो । त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो,’ उनले भने ।
उनले नेपाली श्रमिकका लागि सुरक्षित र उच्च प्रतिफल दिने नयाँ श्रम गन्तव्यको खोजी भइरहेको बताए ।
आन्तरिक श्रम बजारमा देखिएका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि बढाएको मन्त्री यादवको भनाइ छ ।
देशभित्र कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने, श्रम शोषणमा पर्ने तथा सामान्य सेवाका लागि पनि श्रम कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न श्रम विभागमार्फत छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।
‘हाल आन्तरिक श्रमिकले पनि साना कामका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्था छ । अब ती सेवाहरूलाई डिजिटल माध्यमबाट सहज बनाइनेछ,’ उनले भने ।
मन्त्री यादवले विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै अब सरकार प्रभावकारी रूपमा प्रस्तुत हुने बताए ।
जनताले छिटो परिणाम खोजेको उल्लेख गर्दै उनले मन्त्रालय परिणाममुखी काम गर्न तीव्र गतिमा अघि बढिरहेको दाबी गरे ।
वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि मन्त्री यादवले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया