काठमाडौं । लोकप्रिय हास्य कलाकार लेखान्त भुषाल ‘घिरौंले’ रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित भएका छन्।
टेलिशृंखला ‘मेरी बास्सै’ र ‘भावीको लेखान्त’ मार्फत आफ्नो सशक्त अभिनय र हास्य प्रस्तुतिले दर्शकको मन जित्न सफल घिरौंले अब यो चलचित्रमार्फत ठूलो पर्दामा दर्शकलाई हसाउने तयारी गरेका हुन्।
सञ्चारकर्मी रघुनाथ सापकोटाको निर्माण तथा अमरदीप सापकोटाको लेखन एवं निर्देशनमा बन्न लागेको यस चलचित्रमा यसअघि नै चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की र लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। घिरौंलेको आगमनसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण पक्षको विश्वास छ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई नयाँ शैलीमा प्रस्तुत गर्ने निर्देशक अमरदीप सापकोटाले बताएका हुन्। उनले समसामयिक सामाजिक विषयलाई मनोरञ्जनसँग जोडेर सबै उमेर समूहका दर्शकलाई हलसम्म आकर्षित गर्ने उद्देश्यका साथ चलचित्र निर्माण भइरहेको समेत बताएका छन्।
प्रि-प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको चलचित्रको छायांकन यसै हप्तादेखि शुरु हुने निर्माण टिमले जनाएको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया