काठमाडौँ । कैलाली र पर्वतमा भएका छुट्टाछुट्टै घटनामा नाबालिका बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन्।
कैलालीको पुनर्वास नगरपालिका–१० भिमबस्तीकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुनर्वास नगरपालिका–१० कै १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राम ढाँटसहित सोही स्थानका २३ वर्षीय दीपक खत्री र २३ वर्षीय भुरू बयाडी भन्ने गणेश बयाडीविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको टोलीले बुधवार दिउँसो उनलाई पुनर्वास नगरपालिका–११ डोके बजारबाट पक्राउ गरेको हो। घटनामा संलग्न भनिएका दीपक र गणेश फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस्तै पर्वतको जलजला गाउँपालिका ठोट्नेरीकी १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ५३ वर्षीय गोरबहादुर विकलाई प्रहरीले बुधवार बेलुकी पक्राउ गरेको छ। बालिकामाथि बलात्कार भएको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
दुवै घटनामा प्रहरीले सम्बन्धित ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया