सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली क्रिकेट कप-२०८३ शुरू हुँदै

16 Shares

काठमाडाैं । ‘कर्णाली क्रिकेट कप २०८३’ आइतबारदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुरु हुँदैछ ।

कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने बताएका हुन् । खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा सञ्चालन हुने भएकाे छ । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको सचिव केसीले बताएका हुन् ।

प्रदेश सचिव केसीले प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहने जानकारी गराएका छन् । प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार र उपविजेताले ५१ हजार पुरस्कार पाउने उनकाे भनाइ थियाे । साेही प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले २० लाख सहयोग गरेको छ ।