सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन (सूचनासहित)

9 Shares

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिव) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएको जनाएकाे हाे । समितिले अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक/कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।

तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने जारी सूचनामा उल्लेख गरिएकाे छ । त्रिविले अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट अहिलेसम्म ११ करोड ८४ लाख रुपैयाँ भन्दा बढी रकम फिर्ता भइसकेको जनाएकाे हाे ।

विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तरराष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको ठहर छ ।

त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम अशुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको हाे ।