काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधिसभाको नयाँ हलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
साेही हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको हाे । यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन ।
पटक–पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अर्यालले असार १ गते निर्माणाधीन संसद् हलको निरीक्षण गर्नुभएकाे थियाे । संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएकाे हाे । साथै, समयमै काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिनुभएकाे थियाे ।
सभामुख अर्यालले निरीक्षणका क्रममा सहरी विकास मन्त्री र सचिवलाई तत्काल काम सक्न निर्देशन दिँदै रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्याउनुपर्नेमा जाेड दिनुभएकाे थियाे । उहाँले बहाना धेरै बनाइरहेकाे भन्दै अब आफूलाई स्पष्ट निष्कर्ष चाहिएकाे बताउनुभएकाे छ । निर्माण कार्य पूरा नभएकाले प्रतिनिधिसभाको बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ।
नयाँ सभा कक्ष तयार भएपछि संसद्का बैठक नियमित रूपमा यहि सञ्चालन गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया