मनसुनजन्य विपदकाे पूर्वतयारीकाे बारेमा सदनलाई जानकारी गराउन सरकारसँग रास्वपा सांसद गजुरेलको माग

13 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे बैठकमा बोल्दै सांसद गजुरेलले यस्ताे माग गर्नुभएकाे हाे । मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारी बारेमा कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराउनुभयाे ।

क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन शुरु भई अत्यधिक वर्षा (क्लाउड बस्र्ट रेन) हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएकाे छ । गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्‍याउन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।‍…

त्यसैगरी, नेपालको पश्चिमी भागमा आगामी १० दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा चल्ने पूर्वानुमान रहेकाले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के–कस्तो कदम चालिरहेको छ भन्दै उहाँले प्रश्न गर्नुभएकाे छ । विपद् पूर्वतयारीका विषयमा गृहमन्त्री सुधन गुरुङले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्नुभयाे ।

सांसद गजुरेलले यसका लागि सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गर्नुभएकाे छ। उहाँले सम्भव भएसम्म आजैको बैठकमा वा अर्को बैठकमा मनसुनजन्य विपद् प्रतिकार्य योजनाकाे बारेमा विस्तृत जानकारी गराउन माग गर्नुभयाे ।