विरोधीसँग साटघाट गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन: महेश बस्नेत

12 Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको पक्षमा दृढतापूर्वक उभिने नेता–कार्यकर्तामाथि गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने तथा विरोधीहरूसँग साटघाट गर्ने प्रवृत्तिले पार्टी निर्माण हुन नसक्ने बताएका छन् ।

बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले पार्टी, पार्टी अध्यक्ष तथा नेता–कार्यकर्तामाथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्ने संकल्प बैठकले गरेको बताएका हुन् ।

उनले पार्टीभित्र र बाहिरबाट फैलाइएका भ्रम चिर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सामाजिक न्याय र जनहितको पक्षमा पार्टीलाई अझ मजबुत ढंगले उभ्याउने प्रतिबद्धता बैठकले व्यक्त गरेको उल्लेख गरेका छन् ।

“पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साटघाट गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन,” बस्नेतले भनेका छन् ।

उनका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टीलाई एकताबद्ध र सशक्त बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, फरक दृष्टिकोण राख्ने केही नेताहरूका सुझावलाई समेत गम्भीरतापूर्वक मनन गरिएको उनले बताएका छन् ।

बस्नेतले बैठकले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित अघि बढ्ने निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।