बोधी संवाद हुँदै, विशेष आकर्षण चीनबारे छलफल

दक्षिण एशियाली क्षेत्रमा द्रुत रूपमा विकसित भइरहेको भू–राजनीतिक परिवर्तन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको नयाँ संरचना र यस क्षेत्रमा चीनको हस्तक्षेपकारी भुमिकाबारे केन्द्रित रहेर विशेष छलफल र सुक्ष्म विश्लेषण

214 Shares

नेपाल, दक्षिण एशिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद २०२६’ आयोजना हुने भएको छ । 
सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र (सेसिफ) को आयोजनामा आउँदो मंगलवारदेखि शुक्रवारसम्म चार दिनसम्म सो सम्मेलन सञ्चालन हुन लागेको हो । मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष, निर्देशक एवं पूर्वराजदुत विजयकान्त कर्णले सम्मेलनबारे विस्तृत जानकारी दिनुभयो । 

यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ । कार्यक्रममा १६ जना विदेशी स्कलरहरूका साथै विभिन्न देशका पूर्वमन्त्रीहरू, पूर्वपरराष्ट्र सचिवहरू, वरिष्ठ कुटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्ना अनुभव र विचार राख्नेछन् । सम्मेलनको पहिलो दुई दिन अर्थात असार २ र ३ गते ‘नेपालको आर्थिक विकासको सम्भावना’ विषयमा केन्द्रित रहेर गहन छलफल हुनेछ, जसमा सुशासन, पारदर्शिता, लगानीमैत्री वातावरण, ऊर्जा, पूर्वाधार तथा डिजिटल रूपान्तरणजस्ता बहुआयामिक विषयमा बहस हुनेछ ।

यस सम्मेलनको सबैभन्दा विशेष आकर्षणका रूपमा दक्षिण एशियामा बढ्दो चीनको प्रभाव र भू–राजनीतिक परिवर्तनबारे छुट्टै र गम्भीर विवेचना गरिने सत्र रहनेछ, जुन असार ४ र ५ गते सञ्चालन हुनेछ । विशेष गरी सम्मेलनको दोस्रो दिन असार ५ गते दक्षिण एशियाली क्षेत्रमा द्रुत रूपमा विकसित भइरहेको भू–राजनीतिक परिवर्तन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको नयाँ संरचना र यस क्षेत्रमा चीनको हस्तक्षेपकारी भुमिकाबारे केन्द्रित रहेर विशेष छलफल र सुक्ष्म विश्लेषण गरिनेछ । क्षेत्रीय तथा वैश्विक शक्ति सन्तुलन फेरबदल भइरहेको वर्तमान परिप्रेक्ष्यमा यस बोधि संवादले नेपाल र समग्र दक्षिण एशियाको सम्भावित कुटनीतिक एवं आर्थिक दिशा तय गर्न दूरदर्शी बहसको साझा मञ्चका रूपमा काम गर्ने विश्वास आयोजकले लिएको छ ।