हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

13 Shares

काठमाडौं । पोखरा–६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ ।

आज दिउँसो ४ः३० बजे फेवा तालमा अचानक हुरी आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा तनहुँको दमौलीका २३ वर्षीय सुदीप बस्नेत, काठमाडौंका २४ वर्षीय सरोज सिम्खडा, १७ वर्षीय आयुष चौलागाईं, २१ वर्षीय सागर क्षेत्री, १९ वर्षीया विनिता श्रेष्ठ, २६ वर्षीय रुसाल चौधरी रहेका छन् ।

साथै कास्कीको पोखरा महानगरपालिका–५ पस्र्याङका २३ वर्षीया झरना गुरुङ, १२ वर्षीय क्रिस श्रेष्ठ, १६ वर्षीया सुदीक्षा पौडेल, १६ वर्षीय अङ्कल ढकाल, १५ वर्षीय प्रितम नेपाली र जापानबाट घुम्न आएकी ४८ वर्षीया एक महिलासहित १२ जनाको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल, नं २४ गण हेडक्वाटर मालेपाटनका प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरू तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा हुरीका कारण समस्यामा परेका थिए ।

लगत्तै फेवातालमा स्थापना गरिएको ‘फेवा रेस्क्यू टावर’ मा खटिएका सशस्त्र प्रहरीको १० सदस्यीय टोलीले उद्धार गरेको थियो ।