संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ, सुशासन र डिजिटलीकरणमा सरकारको जोड : अर्थमन्त्री वाग्ले
काठमाडौं, — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थ–राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दाबी गरेका छन्। उनले सुशासन, स्वस्थ प्रतिस्पर्धा र डिजिटलीकरणमार्फत सेवा प्रवाहमा व्यापक सुधार गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले विगतमा सीमित व्यक्ति वा समूहको प्रभावमा रहेका राजनीतिक, प्रशासनिक तथा नियामक संरचनामाथिको नियन्त्रण तोड्न सरकारले उल्लेखनीय सफलता हासिल गरेको बताए। उनले राज्यले बलियो नियामक तथा अवसर सिर्जना गर्ने भूमिका निर्वाह गर्ने र निजी क्षेत्रले उत्पादन, लगानी, रोजगारी सिर्जना तथा कर तिरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए। उनका अनुसार सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै आर्थिक सुधारका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
“हाम्रो लक्ष्य सबैका लागि समान अवसरसहितको प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु हो,” उनले भने। मन्त्री वाग्लेले सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। नागरिक एपमार्फत सयौं सरकारी सेवा उपलब्ध गराउने, कम्पनी दर्तालगायतका प्रक्रियालाई सरल बनाउने तथा प्रशासनिक झन्झट कम गर्ने दिशामा काम भइरहेको उनले बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा डिजिटल शासनको एजेन्डा कार्यान्वयन भइरहेको उनको भनाइ छ। पूर्वाधार विकास आयोजनाको कार्यान्वयनमा देखिएका ठेक्का प्रक्रिया, सार्वजनिक खरिद, जग्गा प्राप्ति तथा मुआब्जासम्बन्धी समस्याको स्थायी समाधानका लागि कानुनी तथा नीतिगत सुधार सुरु गरिएको पनि उनले बताए।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रकमान्तर तथा प्रशासनिक लचकताको व्यवस्था गरिएको उनको भनाइ थियो। मन्त्री वाग्लेले सरकारले छोटो अवधिमै १५० भन्दा बढी कानुन संशोधन तथा आवश्यक व्यवस्थापनका काम अघि बढाएको र १५ भन्दा बढी अप्रासंगिक कानुन खारेज गरेको जानकारी दिए।
सुधारको यो गति आगामी दिनमा पनि निरन्तर रहने उनको दाबी छ। उनले सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै निजी क्षेत्र, सञ्चारमाध्यम र आम नागरिकको विश्वास, सहकार्य तथा साझेदारी आवश्यक रहेको बताए। “समृद्धि र सुशासनको लक्ष्य विश्वास र सहकार्यबाट मात्र हासिल गर्न सकिन्छ,” उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया