जडीबुटीमा गोली चल्यो

15 Shares

काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएको छ । जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् ।

उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग मुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘जवाफी कारबाहीका क्रममा हाम्रो एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।’

लुटपाटमा संलग्न कार्कीलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । प्रहरी कर्मचारीको कान्तिपुर अस्पतालमा उपचार हुँदैछ ।

शनिबार दिउँसो सुकेधारामा कार्की र अर्का युवकले एक जना महिलालाई आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेर भागेका थिए । उनलाई खोज्ने क्रममा जडीबुटीमा जम्काभेट भएको प्रहरीले दावी गरेको छ । लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गोली प्रहारबाट घाइते भएका कार्की जेनजी आन्दोलन हुँदा भदौ २४ मा केन्द्रीय कारागारबाट भागेका थिए । उनी डाँकाचोरी मुद्दामा जेल परेका थिए । केही समय अघि उनले कपनमा प्रहरीलाई समेत खुर्सानीको धुलो छर्केर फरार भएको प्रहरी अधिकृतहरू बताउँछन् ।