राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान, ३५ वर्ष उमेर अनिवार्य

12 Shares

काठमाडौं । सरकारले राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आउँदो जुन ५ भित्र दरखास्त दिन आह्वान गरेको हो । मन्त्रालयले यससँगै योग्यता, सर्त तथा कार्यक्षेत्रसम्बन्धी निर्देशिकासमेत सार्वजनिक गरेको छ ।

निर्देशिकाअनुसार राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै फौजदारी कसुरमा सजाय नपाएको, भ्रष्टाचार वा नैतिक पतनका कारण सरकारी सेवाबाट बर्खास्त नभएको, तथा कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने सर्त राखिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको, अंग्रेजी भाषामा दक्षता भएको तथा सम्बन्धित देशमा कुनै स्वार्थ नबाझिने उम्मेदवारलाई योग्य मानिनेछ ।

यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा रहेका व्यक्तिले सो पद छोडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका, उच्च सरकारी वा कर्पोरेट तहमा नेतृत्व अनुभव भएका तथा सम्बन्धित देशको भाषा जान्ने उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्राप्त दरखास्तहरू प्रारम्भिक रूपमा छानबिन गरी मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाइ हुँदै सम्बन्धित देशको सहमतिपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ ।

नियुक्त भएपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी सम्बन्धित मुलुकमा जिम्मेवारी सम्हाल्नेछन् ।