काठमाडौं । मिङ्मा डेभिड शेर्पाले सङ्घीय संसद्को प्रतीकचिह्न अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित आरोहण अभियानमा निस्किनुभएका उहाँले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको संसद् र हिमालबीचको सन्देश विश्वसामु पुर्याउनुभएको बताइएको छ ।
३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा अन्तरराष्ट्रिय रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ । ‘मिङ्मा डेभिड’ नामले परिचित उहाँले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान समेत कायम गर्नुभएको थियो ।
उहाँ २०८२ सालको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया