काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार देखि सुनुवाइ अघि बढेको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सोमबारका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै देउवा वारेशमार्फत सर्वोच्च अदालत पुगेका हुन् । रिट निवेदनमा काठमाडौं जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी गरिएको छ ।
देउवाले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर पनि गरेका छन् । हाल उनको तर्फबाट कानुन व्यवसायीहरूले संयुक्त इजलासमा बहस गरिरहेका छन् ।
सर्वोच्च अदालतले दुवै पक्षको बहस सकेपछि पक्राउ पुर्जी कार्यान्वयन रोक्ने अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । निर्वाचनअघि हङकङ गएका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया