प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ विवादमा सर्वोच्चमा सुनुवाइ जारी

39 Shares

काठमाडौं । प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिट दरपीठ गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो। सर्वोच्च अदालतका रजिस्ट्रारले गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने प्रशासनिक आदेश दिएका थिए।

उक्त आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै निवेदन दायर गर्दै इजलासबाट सुनुवाइको माग गरेका हुन्। उनीहरूले रजिस्ट्रारको प्रशासनिक आदेश ‘बेरित’ भएको दाबी गरेका छन्।

सर्वोच्च प्रशासनले ती निवेदन करिब एक सातासम्म ‘होल्ड’ राखेपछि प्रधानन्यायाधीश नियुक्ति र शपथ ग्रहण सम्पन्न भएपछि मात्रै दर्ता गरेको बताइएको छ।

संयुक्त इजलासमा निवेदक पक्षको बहस सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयमा टुंगो लाग्नेछ। रिट निवेदकका अनुसार आजै सुनुवाइ सम्पन्न भई आदेश आउने सम्भावना छ।