पुराना र अव्यवहारिक कानून संशोधन गरी युगसापेक्ष बनाउनुपर्छः सभामुख अर्याल

126 Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्नेगरी कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

पूर्वसांसद मञ्चद्वारा आयाजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना र असान्दर्भिक कानूनको संशोधन वा खारेजी तथा प्रविधिमैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको बताए ।

अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । कानून निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको भन्दै उनले वर्तमान सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी व्यवस्थाको आलोचना गरे ।

उनले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाए । लिखित परीक्षामा अनुत्तिर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पुर्‍याएको उनको तर्क छ ।

कानून निर्माण गर्दा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको भन्दै अर्यालले असन्तुष्टि व्यक्त गरे । मुलुकको समृद्धिका लागि राज्यका तीनै अङ्ग— कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ‘स्पिरिट’ र ‘स्पिड’ मिल्नुपर्ने अर्यालको धारणा छ ।

उनले स्रोत र साधनभन्दा पनि सफा ‘नियत’ भए मात्र नीति–नियमहरूले सार्थक परिणाम दिने उल्लेख गरे । आगामी दिनमा युवा सांसदहरूले सरकारलाई घच्घच्याउँदै जनजीविकासँग जोडिएका विषयमा प्रभावकारी कानून निर्माणका लागि पहल गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।