नेप्सेमा सामान्य करेक्सन : परिसूचक १२.३६ अंक घट्यो, कारोबार रकम भने बढ्यो

41 Shares

काठमाडौं । अघिल्लो दिन ३० अंकले बढेको सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचक १२.३६ अंकले घट्दै २७४२ अंकमा कायम भएको हो ।

बजार घटे पनि कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । दिनभरजसो बजार रातो अंकमा कारोबार भएको थियो ।

आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घट्यो भने ९ कम्पनी स्थिर रहे । अधिकांश समूहका सूचक घटेका छन् । यद्यपि कुनै पनि समूहको गिरावट १ प्रतिशतभन्दा माथि पुगेन ।

बैंकिङ ०.५७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य समूह ०.३१ प्रतिशतले घटे । व्यापार समूह भने स्थिर रह्यो ।

आज बुंगल हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढ्यो । मूल्य बढ्नेमा बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि अगाडि रहे ।

यता अपर लोहोरेखोला को सेयर मूल्य १४.९५ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा रह्यो । साथै झापा इनर्जी ८.१२ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ७.४० प्रतिशत तथा सिटी होटल ३.८० प्रतिशतले घटे ।

आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर तथा फर्स्ट माइक्रोफाइनान्स रहेका छन् ।